पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले विभिन्न माग राखि आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा ठप्प प्रायः भएको छ ।
नर्सहरुले तलब, भत्ता वुद्धिलगायतको माग राखि गत आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । दशैंपछि नर्स र अस्पताल प्रशासनबीच छलफल भई एक सातामा माग पुरा गर्ने बताइएपनि नर्सहरुले शंका र असन्तुष्टी जनाएपछि निकास निस्कन सकेको छैन ।
नर्सहरुले सेवा नदिँदा अस्पतालका वार्डमा रहेका बिरामीहरुलाई डिस्चार्ज गरिएको प्रशासनले बताएको छ ।
‘सरकारी अस्पतालमा निश्चित सेवा, सुविधा तोकिएको हुन्छ तर निजीले आय अनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने भएकाले हाल तनाव पैदा भएको हो’ अस्पताल प्रशासनले भनेको छ ।
प्रशासनका अनुसार मानव संशाधान विभागमा नर्सहरुले प्रस्ताव बुझाएकाले यथाशघ्रि माग पुरा गर्ने तयारी भइरहेको छ ।
हाल सघन कक्षमा रहेका बाहेकका बिरामीालई सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।
‘भोली ओपिडी बन्द रहने छ, यसैबीच सहमतिमा पुग्ने अधिकतम प्रयास हुनेछ’ अस्पतालका एक बोर्ड सदस्यले भने । उक्त बोर्ड सदस्यको भनाइअनुसार आज नर्सहरुलाई अपरान्ह ३ बजे वार्तामा बोलाइएपनि नआएको र नाराबाजीमै व्यस्त भइरहेका हुन् ।
नर्सहरुले मानव संशाधान विभागमा आफ्ना प्रस्ताव र निर्णयहरु बुझाएका छन् ।
आज अबेर प्रशासनसँग भएको निर्णयमा तलब बृद्धिका सन्दर्भमा प्रमुख कार्यकारी निर्देशकसँग असोज १९ गते छलफल गर्ने, विशेष कार्यक्षमताका आधारमा तलब र सुविधा वृद्धि गर्ने, प्रत्येक महिनाको ५ गतेभित्र तलब खुवाउनेलगायतका बुँदा रहेका छन् ।
त्यस्तै, कर्मचारी कल्याण कोष, यातायात सुविधा, ड्युटीको समय, ओभरटाइम र सिफ्टकासम्बन्धमा समेत १९ गतेभित्र सहमतिमा जाने निर्णय गरिएको छ ।
मुलतः नर्सहरु सरकारीसरह सेवा, सुविधाको माग गर्दै असमान तलबविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले समय र श्रमको मूल्य पाउनुपर्ने मुख्य माग रहेको बताउँदै आएका छन् ।







