cricket npl

क्रिकेट :नेपालको जित,बन्यो समुह विजेता

पोखरा। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपाल समूह बीको विजेता बन्दै सुपर सिक्समा पुगेको छ ।

दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । आजको जितसँगै नेपालले सुपर सिक्समा दुई अंक जोडेको छ । आज भएको खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको हो ।
अल अमिरात क्रिकेट मैदानमा १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए । गुल्सन झाले २० बलमा नटआउट २८ रन बनाए । समग्रमा आजको खेलमा गुल्शन झाको अलराउन्ड प्रदर्शन उत्कृष्ट रहयो ।

उनले बलिङमा पनि ४ ओभरमा १ मेडन राख्दै महत्वपूर्ण २ विकेट लिएका थिए । ब्याटिङमा गुल्सनले १ चौका र २ छक्का प्रहार गरे । यस्तै, कप्तान रोहिकुमार पौडेल १८ रन बनाउँदा सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले नटआउट १४ रन बनाए ।

बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो । जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए । उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो । १३औं ओभरको चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २/२ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले १/१ विकेट लिए ।

Scroll to Top