
नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमा फर्कन लागेको बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग एकता गर्न लागेको र घनश्याम भुसालले नयाँ पार्टी बनाउने तयारी गरेको बताए ।
ती दुवै धारमा नलागी आफूहरू भने आफ्नो ‘पुरानो घर’ एमालेमै फर्कने निर्णयमा पुगेको स्पष्ट गरे।
‘हामी एमाले प्रवेश गर्न लागेको होइन, घर फर्कन लागेको हौँ। हाम्रो पसिना बगेको, जीवन अर्पण गरेको पार्टी एमाले नै हो,’ उनले भने ।
श्रेष्ठले एमालेमा फर्कँदा कुनै पदको आशा नभएको समेत बताए । ‘हामी वार्ता र संवादमा छौँ, तर पद वा सशर्त फर्कने होइन, निसर्त घर फर्किन्छौँ। हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ’ उनले भने ।







