
सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेसक्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ ।
उद्धारपछि अब अन्नपूर्ण बेसक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नभएको सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले बताएका छन् ।
उनीहरुलाई सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिँदै उनले हाल अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको उद्धार गरेको थापाले बताए ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको बताइएको छ ।
पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ भने बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबार्ट फर्काइएको थियो ।
सशस्त्रले बुधबारमात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याएको थियो ।







