नयाँलिपिः हिउँदको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनैपनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको विपद् व्यवस्थापनको बैठकले विगतको अव्यासको समीक्षा गर्दै आउन सक्ने सम्भावित परिस्थितिसँग जुध्नका लागि तयारी अवस्थामा रहने भएको छ ।
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बमोजिम गाउँपालिका स्तरमा विपत्ती तथा हिमपातजन्य विपद्को अवस्थामा आवश्यक पर्ने विपद् उद्दार र राहत सामग्रीहरू तयारी अवस्थामा राख्ने भएको छ । आवश्यकताका आधारमा सबै स्थानिय तहहरू, सुरक्षा निकायहरू, अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना९एक्याप० र जिल्ला रेडक्रस सोसाइटीसँग खोजेको बखत तत्काल उपलब्ध हुने गरी भण्डारण गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयो ।
विपद् जन्य अवस्था तथा हिमपातको समयमा यात्रुहरूको सुरक्षा जोखिमलाई ध्यानमा राखी सड़क दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्ने र यात्रुहरूको सुरक्षामा विशेष सर्तकता अपनाउने भएको छ । त्यस्तै विपद्बाट पर्न सक्ने प्रभाव र क्षतिको न्युनीकरणका लागि सबै सुरक्षा निकायहरूले आवश्यक स्रोत साधन सहित तयारी अवस्थामा राखिएको छ ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र र स्थानीय विपद् व्यवस्थापन समिति नियमित समन्वय र सम्पर्कमा रहने साथै स्थानीय विपद् व्यवस्थापन समिति अन्तर्गतका फोकल पर्सनहरूले जिल्ला आपतकालिन कार्यसचालन केन्द्र एवम् सुरक्षा निकायहरूलाई विपद्को अवस्थामा तत्काल सूचना सम्प्रेषण गर्ने गरी तयारी थालिएको छ ।