आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।
गत शनिबार पौडेलले अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई अस्पताल लगिएको थियो ।
कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान पौडेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
घटनामा पौडेलको शरीरमा लागेको आगो निभाउन खोज्ने क्रममा गिरी पनि सामान्य घाइते भएका थिए ।
गिरी अस्पतालबाट डिस्चार्ज भएपछि शोधपुछका लागि प्रहरीले बोलाएको थियो । सामान्य शोधपुछपछि उनलाई प्रहरीले छोडेको थियो । अहिले पनि गिरी सम्पर्कमा रहेको एसएसपी थापाले बताए ।
