सरकारको निर्देशनमाथि अटेर, तिहारमा पनि निरन्तर आन्दोलनमा नर्स

santan ads

सरकारले पटक पटक सरकारीसरह तलब भत्ता उपलब्ध गराउन निजी मेडिकल कलेजहरुलाई आग्रह गर्दै आएको छ ।

२०८१ मंसिर २७ गते निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सरकारी नर्सिङ कर्मचारी पाँचौँ-छैठौँ तह बराबर ३४ हजार ७३० रुपैयाँ पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको थियो ।

तर निजी मेडिकलहरुले उक्त निर्णयको बेवास्ता गर्दै नर्सहरुलाई एकदमै न्यून १९ हजारभन्दा कम पारिश्रमिक दिने गरेको भन्दै फेरी पनि नर्सहरु आन्दोलनमा उत्रिएपछि गत असोज २६ गते अर्को परिपत्र गरेको छ ।

यसपटक त झन् निजी मेडिकल कलेजहरूले त्यसलाई कार्यान्वयन गर्नुको सट्टा तलब नबढाउने भन्दै सरकारलाई ठाडो चुनौती दिएका छन् ।

निजी मेडिकल कलेजहरूको छाता संगठन नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले मंगलबार मन्त्रालयलाई नर्सको तलब नबढाउने दाबीसहित पत्र पठाएको छ ।

‘निजी मेडिकल तथा डेन्टल कलेजहरूले स्वास्थ्य बिमा बोर्डलगायत सरकारका विभिन्न स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत प्रदान गरिने सेवामा नेपाल सरकारले तोकेको दरमै सेवा शुल्क लिने गरेका छन्, सेवा शुल्क सरकारी दरमा लिने र पारिश्रमिक पनि सरकारी सरह गर्नाले आर्थिक सन्तुलन कायम गर्न व्यावहारिक देखिँदैन’, एसोसिएसनले भनेको छ ।

‘यस्तो अवस्थामा सरकारी सरह पारिश्रमिक लागू गर्दा आर्थिक दिगोपनामा नकारात्मक असर पर्नसक्ने, शिक्षण गुणस्तर, सेवा निरन्तरता र रोजगार सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ  ।’ एसोसिएशनद्वारा जारी पत्रमा भनिएको छ ।

गण्डकी प्रदेशका मेडिकल कलेजबाट सुरु भएको आन्दोलन देशभरी नै फैलिएको छ । सुरुमा मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेशका विभिन्न निजी मेडिकल कलेजहरुमा कार्यरत नर्स तथा चिकित्सकहरु पनि धर्नामा बसेका छन् ।

नेपाल नर्सिङ् संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला शर्माका अनुसार आन्दोलन अन्तर्गत कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरुमा कालोपट्टी बाँधेर काम गर्ने र कात्तिक १२ देखि १८ गतेसम्म दिनको दुई घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गर्ने संघले निर्णय गरेको छ ।

यसैगरी, कात्तिक १८ गतेसम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका थप कार्यतालिका प्रकाशित गरिने अध्यक्ष शर्माले जानकारी दिएकी छन् ।

Scroll to Top