आइतबारको अपेक्षा ! नर्सको आन्दोलन टुंग्याउन घनीभूत वार्ताको तयारी

santan ads

पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) हुँदै देशव्यापी बन्दै गएको नर्सहरुको आन्दोलनले यतिबेला मुलुकको स्वास्थ्य क्षेत्र तनावमा छ ।

निजी अस्पतालमा कार्यरत नर्सहरुले सरकारीसरह तलबलगायत सेवा, सुविधाको माग राख्दै थालेको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरुले पनि ऐक्यबद्धता जनाएपछि सरोकारवालाहरुले वार्ताको तयारी गरेका छन् ।

यसबीच, सरकारले निजी अस्पताललाई सरकारी सरहर सेवा, सुविधा उपलब्ध गराउन दिएका निर्देशन पोखराका २ ठूला निजी अस्पतालले अवज्ञा गरेपछि आन्दोलनले देशव्यापी स्वरुप लिन थालेको हो ।

नर्सहरुको आन्दोलनलाई नेपाल नर्सिङ् संघ (नान)ले समर्थन जनाउँदै दबाबका कार्यक्रम आयोजना गरिरहेको छ । यसैबीच, नानले आन्दोलनलाई टुंग्याउन दबाब बढाएपछि आइतबार सम्बन्धित निकायबीच वार्ताको तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालयको पहलमा हुन लागेको वार्तामा नान, मेडिकल व्यवसायी, आन्दोलनरत नर्सका प्रतिनिधिबीच त्री–पक्षीय वार्ता हुनेछ ।

आइतबार हुने औपचारिक वार्ताबाट समस्या समाधान हुन नसके नानले देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइसकेको छ ।

सरकारी दरअनुसार नर्सहरूको पारिश्रमिक चौथो तहको अनमीको पारिश्रमिक ३५ हजार २ सय ८८, पाँचौं तहको स्टाफ नर्सको ३८ हजार २ सय ९०, अधिकृत छैटौंको ४४ हजार ३ सय २५ छ ।

यस्तै, अधिकृत सातौंको ४६ हजार ५ सय १५, अधिकृत आठौंको ४८ हजार ३२, अधिकृत नवौंको ५१ हजार ६ सय ६०, अधिकृत दशौं तहको ५५ हजार ९ सय ६४, अधिकृत एघारौं तहको ५७ हजार ८ सय ६२ र अधिकृत बाह्रौं तहको ६६ हजार ८ सय ६० रुपैयाँ पारिश्रमिक तोकिएको छ ।

Scroll to Top