पोखरा । टी–२० विश्वकप छनोट खेलको अहिले भईरहेको खेलमा नेपालले सामोआसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको मस्कटमा आयोजना भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई जितका लागि २१२ रनको चुनौती दिएको हो ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा यो प्रतियोगिताकै सर्वाधिक २११ रन बनाएको हो । यो जारी प्रतियोगिताकै सबैभन्दा दोस्रो उच्च योगफल हो ।
नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ तथा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग ६३ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेल १५ बलमा १७ रन बनाए ।
पाँचौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गर्ने क्रममा लोकेश बलले करियरकै उत्कृष्ट १२ बलमा अविजित रहँदै ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाए ।
यो खेल जित्दा नेपाल उपाधिसहित विश्वकपमा पुग्नेछ । हारले नेपाल उपविजेता हुने सम्भावना हुनेछ ।
आज भएको पहिलो खेलमा ओमानले जापानमाथि सहज जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । ओमानले जापानलाई ९ विकेटले हराएको हो ।
१०४ रनको सामान्य चुनौती ओमानले १७ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा ओमान पराजित भएको भएमात्र नेपाल सामोआसँग खेल्नुअघि नै विजेता हुने थियो ।
नेपालको पनि ८ अंक भए पनि जितले १० अंक हुनेछ भने हारले रनरेट कम हुने हुँदा ओमानभन्दा पछि पर्नेछ ।
यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ ।
सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् ।
नेपाल, ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार र जापान तथा एक खेल कम खेलेको र सामोआ बाहिरिइसकेका छन् ।
अहिले नेपाल र ओमानको ८–८ अंक छ भने यूएईको ६ अंक छ । कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।
नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।