पत्रकारले आचार संहिता पालना गरे रोकिन्छ ‘फेक न्यूज’

आमसञ्चार माध्यममा पछिल्लो समय फेक न्यूज (मिथ्या र भ्रमपुर्ण समाचार)को जगजगी भएको भन्दै यसले समाजलाई क्षति पुग्ने गरेको सरोकारवालाहरुको टिप्पणी छ ।

मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले पत्रकार स्वयंले पेशागत मर्यादा र आचार संहितको पालना गर्न जरुरी रहेको आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा पनि गलत सूचना प्रवाहमा कमी हुने बताए ।

संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित मिथ्या र भ्रमपूर्ण सूचनाको चनौती र समाधान विषयक सरोकारवालासंगको अन्तरक्र्रियाका सहभागीले राजनीति र कुटनीतिक क्षेत्रमा र विपत्तीका बेला भ्रमपूर्ण सूचना फैलने गरेको सुनाए ।

लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिक्रम कर्माचार्यले समाचार पूर्ण नहुने, एकतर्फी सूचना, समाचारको प्रभाव के हुन्छ भन्नेतर्फ ध्यान नदिने र नकरात्मक नकरात्मक समाचारमा जोड दिने कुरालाई सुधार्नुपर्ने बताए ।

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक भीमनाथ बरालले राजनीति र कुटनीतिमा सूचनालाई तोडमोड गर्ने र प्रोपोगान्डालाई एउटा औजारको रुपमा लिने गरेको उल्लेख गरे ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले आफुले तथ्यमा रहेर सामाजिक सञ्जालको प्रयोग गर्दै आएको र कार्यक्रमले थप सचेत बनाएको धारणा व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सुनेको भन्दा देखेकोमा सत्यता हुने भन्दै गलत सूचनाले वर्षौदेखिको ब्रान्ड ध्वस्त हुने बताए ।

अपांगता भएका व्यक्ति डण्डपाणी ढकालले नबुझीकन समाचार सम्प्रेषण गर्दा क्षती पुग्ने गरेको र नकरात्मक असर पर्न गएकाले आचारसंहिता लागु भएमा भ्रामक समाचार कम हुने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले समाजका व्यक्तिले नै मिथ्या र भ्रमपूर्ण समाचार दिने र यसको समाधान पनि हामीले नै गर्नुपर्नेमा जोड दिए । नैतिकता विर्सेपछि गलत सूचना प्रवाह हुने भन्दै उनले घर, छिमेक, समाज सम्झेमा भ्रमपूर्ण सूचना नहुने जनाए ।

इन्सेक गण्डकी संयोजक गणेश भण्डारीले भ्यूज बढाउने र भाइरल हुने होडबाजीले समस्या आएको उल्लेख गरे । नकरात्मक समाचार बिकाउ हुने भएकाले जोड दिने गरिएको भन्दै यसलाई सच्चाउन आवस्यक रहेको उनले बताए ।

पत्रकार महासंघ कास्की उपाध्यक्ष कञ्चन थापाले ब्रेकिङ समाचार दिने क्रममा मिथ्या समाचार दिने गरिएकाले यसलाई सच्चाउनु पर्ने बताइन् ।

पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले मिथ्या र भ्रमपूर्ण समाचारले समाज, मुलधारका मिडियालाई विगारेको भन्दै यसतर्फ नागरिक जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभा सचिव गोविन्द पौडेलले सकरात्मक आलोचनात्मक समाचार आवस्यक रहेको भन्दै नकरात्मक समाचारले समाजमा उच्छृंखलता उत्पन्न हुने बताए । पकारितामा स्वअनुशासन आवस्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य केशवशरण लामिछानेले मिथ्या सूचना, दुष्प्रचार विषयमा प्रस्तुति गर्दै कस्तो बेलामा मिथ्या समाचार फैलाइन्छ र कसले फैलाउँछ भन्ने केही उदाहरण पेश गरेका थिए ।

प्राय: सामाजिक सञ्जालबाट मिथ्या समाचार फैलिने, यसको रोकथामका उपाय, पत्रकार र सञ्चार माध्ययम कसरी जोगिने भन्ने लगायत विषयमा उनले प्रस्तुति दिएका थिए ।

मञ्चका अध्यक्ष विशन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भरत कोइरालाले सहजीकरण गरेका थिए ।

Exit mobile version