गण्डकी प्रदेश सरकारले विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
प्रदेश सरकारले यस वर्षको चाडलाई ‘आत्मनिर्भर र समृद्ध गण्डकी’को विशेष नाराका साथ मनाउन आह्वान गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जारी गरेको प्रेस रिलिजमा नेपालको बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधता नै मुलुकको मौलिक पहिचान रहेको उल्लेख गरिएको छ।
विजयादशमी पर्व सत्यको विजय र विश्वासको प्रतीक भएको बताउँदै मुख्यमन्त्री पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म विविध सांस्कृतिक, धार्मिक क्रियाकलाप र उत्साहका साथ मनाउन आग्रह गरेका छन्।
दशैंमा मान्यजनबाट टीका, जमरा, फुलपाती, आशीर्वाद ग्रहण गर्ने, शुभकामना आदानप्रदान गर्ने, पारिवारिक जमघट एवं न्यानो खुसीयाली साटासाट गर्ने जस्ता परम्पराले सामाजिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा जनाइएको छ।
मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा विदेशमा रहेका नेपालीहरूको योगदानको समेत प्रशंसा गर्दै उनीहरूको निरन्तर सहयोगको अपेक्षा राखेका छन्।
गण्डकी प्रदेश हाल संक्रमणकालीन अवस्थामा रहेको र यस क्षेत्रको सामाजिक, आर्थिक एवं पूर्वाधार विकासका लागि महत्वपूर्ण छलफल तथा कार्यहरू भइरहेको सन्दर्भमा विजयादशमीले सबैलाई राष्ट्रिय एकता र सामूहिक प्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।