पोखरा । विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो ।
पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले शुक्रबार बिहान १० बजेसम्म अनलाइनमार्फत फाराम भर्न सक्ने छन् ।
सहभागि हुने धावकहरुले पोखरा ९ बाँस्तोलाथर सिल्भर प्लेट पार्टी प्यालेससंगै रहेको संस्थाको कार्यालयबाट चेष्ट नम्बर लिनको लागि बिहान ८ः०० बजे देखि बेलुका ४ बजेसम्म लिन सक्ने संयोजक बरालले जनाए ।
प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका हुन् ।
नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् ।
खुल्लातर्फ ५४ जना, महिला खुलातर्फ मात्र ७ जना, यू–१६ तर्फ १८ जना, विदेशी पर्यटक ३ जना, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ जना र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था छ ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा सहभागी धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् । फाईल फोटो