एभरेष्ट महिला भलिबल लिगका विदेशी खेलाडीलाई फर्काइयो, प्रतियोगिता निरन्तर हुने

santan ads

इन्फिनिटी ड्रिम्सको आयोजनामा भदौ २० गतेदेखि पोखरामा वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सुरु भएको थियो ।

६ टोली सहभागी लिगको भदौ २८ गते फाइनल हुने तय थियो ।

तर आन्दोलन सुरु भएको दिन भदौ २३ गतेसम्म खेल सञ्चालन भएपनि २४ गतेदेखिको खेल भने प्रभावित बन्यो । जसले गर्दा लिगको खेलहरु अघि बढ्न सकेन ।

आयोजकले पाँचौ दिन देखि नै प्रतियोगिता तत्कालका लागि स्थगित गर्‍यो । तर आन्दोलनको प्रभाव बढ्दै जाँदा थप खेल हुन सकेन ।

चार दिनमा लिग चरणको ९ खेल सम्पन्न भयो । फाइनलसहित बाँकी ७ खेल हुन सकेन । केही टिम बसेको होटलमा आन्दोलनकारीले आगो लगाउँदा खेलाडीहरु नै असुरक्षित महसुस गरेका थिए ।

त्यस्तो अवस्थामा आयोजकले फ्रेन्चाइज टिम लगायत यसमा संलग्न सबैलाई बिहीबार काठमाडौं फर्काएर लिग खेल्न आएका विदेशी खेलाडीहरुलाई समेत आफ्नो देश फर्काइसकेको छ ।

लिग खेल्न थाइल्याण्ड देखि ब्राजिलसम्मका १८ विदेशी पोखरा जम्मा भएका थिए ।

इन्फिनिटी ड्रिम्सले आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सबै विदेशी, स्वदेशी खेलाडीहरु घर फर्किसकेको जनाएको छ ।

साथै आयोजकले सुरक्षा र उपलब्धतालाई प्राथमिकतामा राखेर लिगको बाँकी खेलहरु रोकिएकै अवस्थाबाट फेरि सुरु गरिने पनि जनाएको छ ।

सहभागि फ्रेन्चाइज, नेपाल भलिबल संघ, स्पोनसरहरुसँग छलफल गरेर नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

Scroll to Top