कुरा काठमाण्डौंकाः फोनमा चर्काे बोले, प्रेस कुकरको सिट्ठी बजाए ३ लाखसम्म जरिवाना !

नेपाल प्रहरीले छिमेकीलाई डिस्टर्ब हुने गरी ठूलो स्वरमा नबोल्न तथा अनावश्यक ध्वनि प्रदूषण नगर्न अपिल गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ घोषणा गर्दै यस्तो अपिल गरेको हो ।

एकाबिहानै र राति अबेर प्रेसर कुकरको सिट्ठी नबजाउन, ठूलो आवाज निस्किने गरी मोटरसाइकल स्टार्ट नगर्न, बिहानको नित्यकर्म गर्ने बेला अनावश्यक नखोक्न/नखकार्न पनि प्रहरीले अपिल गरेको हो ।

ध्वनि प्रदूषणले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले छिमेकीलाई असुविधा हुने गतिविधि नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

फोनमा ठूलो स्वरमा नबोल्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, भान्सामा भाँडाकुँडा नबजाउन, राति गेट वा घन्टी बजाउनुको साटो फोनको प्रयोग गर्न पनि प्रहरीले अपिल गरेको छ ।

साथै, मोटरसाइकल स्टार्ट गर्न छिमेकीलाई डिस्टर्ब हुने भए पर लगेर मात्र स्टार्ट गर्न र घरबाहिर फोहोर नफाल्न पनि प्रहरीले अपिल गरेको छ ।

छिमेकमा यस्ता गतिविधि भए १०० वा १०३ मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । माथि उल्लेखित कुनै पनि गतिविधि गरेर टोल छिमेकलाई डिस्टर्ब गरेमा ३ लाखसम्म जरिवाना हुन सक्नेतर्फ पनि प्रहरीले सचेत गराएको छ ।

Exit mobile version