व्यास नपाले फोहोर बेचेरै कमायो महिनामा १५ लाख

santan ads

तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहोर बेचेर ११ महिनाको अवधिमा १५ लाख ३२ हजार ८३७ रुपैयाँ आम्दानी गरेको छ।

गत भदौ महिनादेखि फोहोर संकलन गरी व्यवस्थित गर्न थालेको नगरपालिकाले अहिले नकुहिने फोहोरलाई ‘मोहर’मा परिणत गरिरहेको छ।

नगरपालिकाले पहिलो चरणमा नकुहिने फोहोरलाई सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको जनाएको छ।

नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाका अनुसार प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गरिँदै आएको छ।

प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले ट्रकमा पर्याप्त मात्रामा फोहोर संकलन भएपछि बिक्रीका लागि पठाउने गरेको जानकारी दिए।

उनले भने, ‘व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्य फोहोरलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गर्ने गरिएको छ।’

उनका अनुसार, रेडबुल लगायतका आल्मुनियम प्रतिकेजी ६० रुपैयाँ, फलाम प्रतिकेजी ३५ रुपैयाँ, टिन २५ रुपैयाँ, पानीका बोतल तथा अन्य बोतल २३ रुपैयाँ, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ रुपैयाँ र किताब १४ रुपैयाँका दरले बिक्री गरिँदै आएको छ।

नगरपालिकाले यसअघि वडा नम्बर ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएको थियो। उ

क्त क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गर्न लागिएको हो।

गैरेले भने, ‘नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र करिब सात टन कुहिने फोहोर संकलन हुँदै आएको छ। पछिल्लो समय कबाडीको महत्त्व बुझ्न थालेपछि अन्य मानिसले पनि संकलन गरी बिक्री गर्न थालेका छन्।’

कुहिने फोहोरलाई नगरले व्यास-१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ। नकुहिने फोहोरको दिगो व्यवस्थापनका लागि वडा नम्बर १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइए पनि स्थानीयले विरोध गरेका कारण उक्त प्रक्रिया हाललाई रोकिएको छ।

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौं खर्च गर्दै आएकामा अब फोहोरबाट आम्दानी गर्न थालेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।

रासस

Scroll to Top