म्याग्दी, अन्नपूर्ण–७ रामदीका कुमार पुर्जा श्रीमतिसहित टुसा टिप्न जाँदा सेतोपहारामा भालुको आक्रमणमा परेका छन् ।
गत शनिबार बिहान साढे ८ बजे भएको उक्त घटनामा ४८ वर्षीय कुमारसँगै उनका पत्नी घाइते भएका हुन् भने १० वर्षीय छोरा भागेर आक्रमणबाट बाँच्न सफल भएका छन् ।
उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी)मा उपचार भइरहेको छ ।
‘हामी ३ जना परिवार टुसा टिप्न गाउँमाथिको सेतोपहारा गएका थियौं’ अस्पतालको बेडबाट पुर्जा भन्छन् ‘भालुले मलाई देख्नेबित्तिकै पञ्जाले टाउकोमा हान्यो, त्यसपछि श्रीमतितर्फ सोझियो ।’
भालुले कुमारको टाउकोमाथिको पुरै छाला उप्काइदिएको छ । त्यस्तै, ढाडमा र बायाँ हातमा समेत चिथोरेको छ ।
कुमारपछि उनको श्रीमतिलाई आक्रमण गर्दा उनको अनुहार र पेटमा घाउ भएको छ । भालुले आमालाई आक्रमण गर्नेबित्तिकै सानो छोरा भागेर आक्रमणबाट बचेका छन् ।
घाइते कुमारका अनुसार सेतोपहारामा पहिल्यैदेखि टुसा टिप्ने गरिँदै आइएको छ । प्रायः समूहमा जाने गरिएपनि यसपटक कुमार परिवार लिएर टुसा टिप्न पुगेका थिए ।
‘दशा लागेरै त होला हामीमात्रै पुग्यौं टुसा टिप्न’ कुमार भन्छन् ‘तैपनि ज्यान बचेको छ, उपचार राम्रै भइरहेको छ ।’
पहिलो चरणको शल्यक्रिया भइसकेको र स्वास्थ्य सुधारोन्मूख भएको अस्पताल प्रशासनले जनाएको छ ।
भालुले आक्रमण गरेको सूचना दिएपछि पालिकाबाट ५० हजार रुपैयाँ सहयोग पाउने भएका पुर्जा दम्पत्तिले बताएका छन् ।