कास्कीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको औषधिमा अनियमितता भएको आशंका गरिएको छ ।
महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा पालिकाले आर्थिक वर्ष ०८०/८१ मा मातहतका स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने औषधि खरिद गर्दा कम्तीमा ३ आधिकारिक बिक्रेताबाट खरिद गरिने औषधिहरूको दररेट लिई सो आधारमा खरिद गर्नुपर्नेमा त्यसो नगरिएको जनाइएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ उपदफा (१) मा खरिदका विधिहरू र उपदफा (२) मा प्रतिस्पर्धा सीमित हुने गरी खरिद गर्न नहुने उल्लेख छ ।
त्यसैगरी, नियमावली, २०६४ को नियम ११ मा लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ ।
पालिकाले लागत अनुमान स्वीकृत गरी उक्त कानुन ऐन अनुसार ३ अधिकृत बिक्रेताबाट दररेट लिनुपर्नेमा ३ खुद्रा बिक्रेताबाट ३ दररेट प्राप्त गरी औषधि खरिद गरिएको उल्लेख छ ।
पालिकाले खुद्रा बिक्रेता रामलक्ष्मण फार्मेसीबाट रुपैयाँ १४ लाख ४२ हजार३७६ रुपैयाँको औषधि खरिद गरी भुक्तानी दिएको छ ।
उक्त खरिदमा लागत अनुमान तर्जुमा र स्वीकृत गरिएको छैन । ‘यसप्रकार गरिएको खरिद कार्य प्रतिस्पर्धी र मितव्ययी भयो भन्न मिल्ने नदेखिँदा अनियमित भएको छ’ प्रतिवेदनमा उल्लेख छ ।