लामाचौर कप छात्रा भलिबलको सेमिफाइनल समिकरण पुरा,पुरुषको खेल भोलि देखि 

पोखरा । लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । 

विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । 

आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । 

पहिलो खेलमा सिर्जनाले सेन्ट मेरिजलाई २५–७ र २५–१५ तथा दोस्रो चरणमा इन्द्रराज्यलक्ष्मी माविलाई २६–२४ र २५–१५ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 

त्यस्तै, टप्सले पश्चिमाञ्चललाई २–१ सेटमा हराउँदै विजयी यात्रा सुनिश्चित गरेको थियो । २०–२५, २५–१३ र २५–२१ सेटमा हराएको टप्स क्वाटरफाइनलमा बालमन्दिरको चुनौती २५–१६ र २५–१२ सेटमा पन्छाउँदै अन्तिम चारमा पुग्यो । 

शान्तले प्रतिभा र केफ माविलाई हराउँदै पोखरा युनाइटेडसँग सेमिफाइनल सुनिश्चित गरेको छ । उसले प्रतिभालाई २५–१८ र २५–१९ तथा केफलाई २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । 

बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई सोझो सेटमै २५–१३ र २५–१९ मा हराउन सफल भएको हो । 

नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो ।

इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । आयोजकले अघिल्लो दिनदेखि भलिबलका खेल सुरु गरेको हो । 

खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् । 

रारा लामाचौर कप खुला पुरुष भलिबलतर्फ आयोजक, एपिएफ पोखरा, कृष्णदल फूलबारी, जिएम समाज, माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र ढुंगेदेउराली क्लब स्याङ्जा गरी ६ टिमले भाग लिएका छन् । उनीहरुको खेल आइतबारदेखि सुरु हुनेछ । 

पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ । 

तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोकनृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने छन् ।

Exit mobile version