गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्।
आफ्नो अनुपस्थितिमा उनले प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई सुम्पेका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल चीन गएको हो।
भ्रमण टोलीमा मुख्यमन्त्रीकी पत्नी बिना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली तथा मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन्।
मंगलबार बिहान चीन प्रस्थान गर्नुअघि मुख्यमन्त्रीसहितको भ्रमण टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री जिसी, प्रदेशका मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए। पोखराबाटै चीन प्रस्थान गरेको मुख्यमन्त्रीको टोली साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।