रुस र युक्रेनबीचको युद्धले झन चर्किदै गएको छ । उक्त आक्रमणमा युक्रेनको कालासागरतटीय सहर ओडेसामा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।
शनिबार बिहान रुसले युक्रेनमाथि ३०० भन्दा बढी ड्रोन र ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गरेको रोयटर्सले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई शान्ति प्रयासका निम्ति गम्भीर धक्का भनेका छन् । आक्रमणमा ओडेसामा २० भन्दा बढी ड्रोन र एउटा मिसाइल प्रयोग गरिएको उनले जनाएका छन् ।
आक्रमणका कारण एक अग्लो भवनमा आगलागी भएको र त्यहाँबाट पाँचजनाको उद्धार गरिएको ओडेसाका मेयर हेन्नादी त्वरुखानोभले पुष्टि गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार, घाइतेमा एक बालक पनि छन् । सदेशको उत्तर–पूर्वी सुमी क्षेत्रस्थित महत्त्वपूर्ण पूर्वाधारमा पनि क्षति पुगेको छ ।
विज्ञका अनुसार, रुसले हाल एक रातमा जति ड्रोन आक्रमण गरिरहेको छ, पहिले त्यस्तो महिनौँ लगाएर मात्र गर्थ्यो । जुलाई ८ मा रुसले कीर्तिमानी रूपमा ७०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो ।
यता, रुसी रक्षा मन्त्रालयले शनिबार बिहान मात्र ७१ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।एजेन्सी