पोखरा । पोखरामा असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखरा क्लिक प्रालिको आयोजनामा हुन लागेको उक्त
प्रतियोगितालाई खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले भएकोले पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छन ।
मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्याबस्थापनमा जुट्न समेत आग्रह गरे ।
स्थानियहरुले पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने जनाउँदै वडामा रहेका २४ वटा टोल विकास संस्था,विभिन्न क्लब, आमा समूह लगायतकाको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने जनाएका छन ।
विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गा बहादुर गुरुङ,पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बराल,कालाबाङ घरेडी बुद्धपाक समितिका अध्यक्ष लाल गुरुङ (राज),भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङ,पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्री, पोखरा २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बराल,शुक्रराज माविका शिक्षक मिलन गुरुङ लगायतले उक्त प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिदै आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल,पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतम लगायतले बोलेका थिए ।
प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले जनाए ।