कास्कीको रुपा गाउँपालिकाले आज पालिकाभित्र स्थानीय यातायात सेवाको शुभारम्भ तथा रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको सुरुवात गरेको छ ।
उक्त सेवाको सुरुवातसँगै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रशासकीय भवनकोसमेत शिलान्यास गरेकाछन् ।
हालसम्म आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भोग्दै आएको गाउँपालिकाको उक्त भवन ७ करोड ८० लाख ५४ हजारको लागतमा निर्माण हुन लागेको हो । विद्युतिय ठेक्का प्रक्रियामार्फत RIPL-MCPL JV काठमाण्डौंले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।
कार्यक्रममा अध्यक्ष ओझाले तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरे निर्माण कम्पनीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे । निर्माण कम्पनीका प्रतिनिधिले पनि समयमै गुणस्तरीय काम सम्पन्न गरी भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पालिकाको कार्यालयसम्म पुग्न स्थानीयलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्रै सञ्चालन हुने गरी स्थानीय यातायात सेवा पनि सुरु गरिएको हो ।
सडक सञ्जाल भएर पनि सार्वजनिक यातायातको अभावमा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीको मागअनुसार पालिकाले रुट, समय र भाडादर निर्धारण गरी सेवा सञ्चालनमा ल्याएको हो ।