नागरिकको आधारभूत सेवामध्ये स्वास्थ्यलाई समेत समेटेर सरकारले ९८ प्रकारका औषधि निशूल्क गरेको छ ।
निशूल्क औषधिमध्ये आइरन र फोलिक एसिडका ट्याब्लेटसमेत पर्छ । उक्त औषधि गण्डकी प्रदेशमा अभाव हुन थालेपछि सम्बन्धित संयन्त्र यतिबेला हतारमा खरिद गर्न थालेका छन् ।
आइरन चक्की देशैभर सम्बन्धित स्वास्थ्य संस्थादेखि तल्लो तह वडाबाट उपलब्ध हुँदै आएको छ । गर्भवति महिला र निश्चित उमेर समूहभित्रका किशोरीलाई उक्त औषधि निशूल्क वितरण हुँदै आएको छ ।
मुलतः गण्डकी प्रदेशमा मातृ मृत्युदरलाई घटाउन, गर्भवति महिलाको शरिरमा रक्तअल्पताबाट जोगाउन आइरनलगायतका औषधि दिइने गरिएको छ ।
सोही औषधि गत चैतदेखि अभाव हुन थालेको हो । यसअघि संघ सरकारले खरिद गरी प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालयले पठाएको लक्षित संख्या अनुसार सम्बन्धित जिल्ला र पालिकामा चक्की वितरण गर्दै आएको थियो ।
चैतपछि अभाव हुँदा प्रदेशको आपुर्ति केन्द्रसमक्ष आफै खरिद गरेर वितरण गर्नुपर्ने दायित्व आएपछि बजेटको जोहो र खरिद प्रक्रियाले बल्ल आज सिमित मात्रामा आइरन झरेको छ ।
आपुर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य मन्त्रालय, गण्डकीबाट १० लाख रुपैयाँ पाएपछि खरिद प्रक्रिया पुरा गर्न २ महिना बढी समय लगाएपछि बल्ल औषधि आउन सुरु भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरज गुरौले आइरन चक्की खरिद गर्न केन्द्रलाई रकम पठाइसकेको जानकारी दिएपनि उक्त रकम केही ढिलो दिइएको र प्रक्रिया पुरा गर्ने झन्झटले गण्डकीमा अभाव भएको पाइएको छ ।
गुरौले रकमबारे पूर्ण जानकारी नदिएपनि १० लाख रुपैयाँ आपुर्ति व्यवस्थापन केन्द्रलाई दिइएको छ । तर उक्त रकमको औषधिले प्रदेशको मागलाई केही समयमात्रै धान्न पुग्छ ।
केन्द्रकी महानिर्देशक डा. रेखा पौडेलका अनुसार पहिले संघ सरकारमार्फत वितरण हुँदै आएको औंषधि यतैबाट जोहो गर्न भनेपछि अभाव देखिएको हो । ‘आज केही औषधि झरेको छ, हामीले तत्काल तनहुँ पठाइसकेका छौं’ डा. पौडेलले जानकारी दिइन् ।
बाँकी औषधि १ हप्ताभित्र सम्बन्धिज जिल्ला पठाउने उनको भनाई छ । चैतमा अभाव देखिँदा बल्ल औषधिको जोहो गरिएकोबारे पौडेलले खरिद प्रक्रिया पुरा गर्दा करिब ३ महिना समस्या लाग्ने गरेको बताइन् ।
अभाव भएको जिल्लामा त्यहाँको अस्पताल, जनस्वास्थ्य कार्यालयले आफै किनेर वितरण गरेको उनको दाबी छ । यसबीच कास्कीबाहेकका जिल्लामा भने निजी अस्पताल र फार्मेसीबाट खरिद गरेर उपभोग गर्नुपरेको सूचना प्राप्त भएको छ ।
तत्काललाई व्यवस्था गरिएको भएपनि आगामी आर्थिक वर्षबाट औषधिको समस्या नहुने डा. पौडेल बताउँछिन् । यद्यपि, उनको संशय भने कायमै छ ।
‘संघबाट औषधि नआउने र आफै खरिद गर्ने हो भने पुनः अभाव भने हुनसक्छ’ पौडेल भन्छिन् ‘मन्त्रालयमा पैसा माग्नुप¥यो, खरिद प्रक्रिमा जाँदा अर्काे ३ महिना लाग्छ ।’
तर प्रदेशको मन्त्रालय भने समस्या आउन नदिने र आफै व्यवस्था गर्न परे खरिदको प्रक्रियालाई सहज बनाउने तयारीमा रहेको छ ।
यसअघि सरकारले २० करोड रुपैयाँको आइरन चक्की खरिद गरेको थियो । उक्त औषधिको म्याद वैसाख १७ गतेसम्म रहेकाले यसको अभावमात्र भएन सरकारी रकमसमेत दूरुपयोग भएको छ ।