गण्डकीको बजेटमा ‘चमत्कार’लाई छुट्याइयो १० लाख रुपैयाँ

santan ads

दिपक के श्रेष्ठः करिब २ महिना अघि कास्कीको रुपा–४ स्थित तालबेशीमा रुखको सुकेको ठुटाबाट निरन्तर पानी झर्न थालेपछि स्थानीयले त्यसलाई ‘चमत्कार’को संज्ञा दिए ।

त्यहाँ पानी झर्ने क्रम नरोकिएपछि एककान दूइकान हुँदै त्यसको चर्चा चल्दै गयो । र, त्यसो हुनुमा भगवानको लीला ठान्न थालियो ।

बिस्तारै तालबेशीमा आसपासबाट हेर्न जानेको भीड बढेसँगै त्यस रुखको ठुटामा भगवानले चमत्कार गरेको भन्दै हाल ‘जलदेवि’ नामाकरण गरी स्थानीयद्वारा रेखदेख र संरक्षण गर्न थालिएको छ ।

जलदेविको चर्चा र प्रसिद्धि चुलिएसँगै उक्त चमत्कारलाई गण्डकी प्रदेश सरकारले यस आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ छुट्याएको छ ।

पर्यटन तथा उद्योग कार्यालय कास्कीमार्फत खर्चिने उक्त बजेट जलदेवि संरक्षण पूर्वाधार निर्माणमा खर्चिने उल्लेख छ ।

हाल उक्त स्थानमा पानी झरिरहेको रुखको फेदलाई सामान्य तारजालीले बारिएको छ भने छेउछाउमा बस्नकालागि बाँसका फलैचा बनाइएका छन् ।

गण्डकीले यस आर्थिक वर्षमा करिब ३ सय २१ वटा मन्दिरको नाममा २१ करोड १५ लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएपछि आलोचित बनेको छ ।

Scroll to Top