
नयाँलिपिः गण्डकी प्रदेशका ८५ गाउँपालिकाका जनप्रतिनिधिसमक्ष मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसपटकको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।
स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालयले आगामी वर्षको बजेट, कार्यक्रम तथा योजनामा स्वास्थ्य क्षेत्रको प्राथमिकतासम्बन्धी प्रदेश स्तरको अन्तरक्रियामा मुम पाण्डेले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रको १० प्रतिशत बजेट पालना गर्ने प्रयास गरेको बताए ।
उनले आफ्नो स्रोत , साधनले भ्याउने गरी अस्पतालको सेवा बिस्तारमा ध्यान दिन जनप्रतिनिधिलाई सुझाउँदै बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरेका छन् ।
‘प्रदेशका सबै मन्त्रालयको बजेटको सिलिङ घटेको छ । सिंगो बजेट सिलिङ घट्दा पनि स्वास्थ्य क्षेत्रको सिलिङ घटेको छैन,’ उनले भने । उनले ११ प्रतिशत बजेट बढाएको जानकारी दिए । मुख्यमन्त्री पाण्डेले यस वर्ष प्रदेश सरकारले मातहतका ९ वटा अस्पताललाई स्तरोन्नति गरिएको बताए ।
स्थानीय तह मातहतका २ अस्पताललाई प्रदेश मातहत ल्याई ५० शैय्या सञ्चालन गरेको जानकारी दिदै उनले यसअघि प्रदेशभर १ सय ९५ शैय्या रहेकोमा अब ६ सय ५० शैय्या सेवा विस्तार भएको सुनाए ।
अस्पतालमा शैय्या वृद्धिसँगै विषेशज्ञ दरबन्दी थपिएको उल्लेख गर्दै उनले ११ औँ तहका ८, कन्सल्टेन्ट विषेशज्ञ चिकित्सक १ सय ८ र मेडिकल अधिकृत ६८ जनाको दरबन्दी प्रदेश सरकारले थप गरी स्वास्थ्य सेवालाई प्राथमिकता दिएको दाबी गरे ।
उनले दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई प्रोत्साहन गर्ने योजना सुनाए । अस्पतालको आम्दानीको १५ प्रतिशत अस्पताल सुदृढीकरण कोषमा जम्मा गर्न उनको सुझाव छ ।
सोही प्रसंगमा मुम पाण्डेले अब प्रदेशले थप अस्पताल चलाउन नसक्ने बताए ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले स्वास्थ्य सेवा विधेयक प्रदेश सभा पेश भई विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।
खड्काले प्रदेशको बेरुजुको मात्रा २० प्रतिशतले घटेको जनाउँदै प्रदेशमा २५ वटा स्तरीय ल्याब आवश्यक रहेको सुनाए ।







