नयाँलिपिः बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ६ का १३ वर्षीय विवश र १४ वर्षीय विशाल परियारको मृत्युको जिम्मा खानेपानी संस्थान, पोखराले लिनुपर्ने वडा ८ का अध्यक्ष राम गुरुङको धारणा छ ।
परियारद्वयको मृत्यु पोखराको खानेपानी मुहान मर्दीको ड्याममा पौडी खेल्ने क्रममा भएको थियो । गुरुङले मुहानमा सुरक्षाको व्यवस्था गर्न खानेपानीको पोखरा कार्यालय र पोखरा महानगरपालिकालाई बाराम्बार अनुरोध गरेको बताए ।
‘पोखरा शाखा र पोखरा महानगरपालिकालाई मर्दी खोलाको ड्याम क्षेत्रमा सुरक्षाको लागि आवश्यक व्यवस्था गर्न पटक–पटक अनुरोध गर्यौं। तर, ती सबै आवाजहरू उपेक्षा गरियो’ गुरुङले भने ‘जसको नतीजा आज पालिकाका २ बालक हामीबीच रहेनन् ।’
‘यो दुर्घटना होइन, लापरवाहीबाट भएको हत्या हो!’ वडाध्यक्ष गुरुङले भनेका छन् ।
बालकको मृत्युपछि सम्बन्धित निकायसमक्ष गुरुङले पीडितको परिवारकातर्फबाट ३ मागसमेत राखेका छन् ।
जसमा पीडित परिवारलाई तत्काल पर्याप्त क्षतिपुर्ति दिनुपर्ने, ड्याम क्षेत्रमा निगरानी, सूचनाबोर्डलगायत सुरक्षाको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण ड्याम र नदी आसपासका जोखिमयुक्त स्थानहरूको पुनरवलोकन र सुरक्षा नीति निर्माण गर्नुपर्ने रहेका छन् ।