पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ ।
पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।
शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् । कोटीहोममा उद्घोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश्वकै तेस्रो व्यक्ति भएका छन् ।
हालसम्म भारत त्रिपुरा राज्यको अम्वासाका सम्राट वसादले ५५ मिनेट २७ सेकेण्ड, भारतकै शम्भुकुमारले ५१ मिनेट ०३ सेकेण्ड लामो शंख बजाएका थिए । यस्तै भारतकै अनुज तिवारीले आठ मिनेट दुई सेकेण्ड लामो शंख बजाएर चौथो स्थानमा रहेको बताइन्छ ।
लामो शंखघोष गरेका अधिकारीलाई कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराज र अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाले सम्मान गरेका थिए ।
कोटीहोमस्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका छन् ।
प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार बिहीबार बिदाको दिन परेकाले दुई लाख भक्तजन सहभागी भए । कोटीहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटीहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् । कोटीहोममा आउने भक्तजन लिएर आजै साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा गाडी पोखरा भित्रिने आयोजकले जनाएको छ ।
कोटीहोममा बिहीबार अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाको प्रवचनमा भक्तजन रमाए । शुक्रबारदेखि प्रवचनका लागि भागवत मञ्जरी राधिका दासी आउदैछिन् । उनी आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिए ।
कोटीहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।
देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।