कोरिखाको प्रचार गर्दै ‘सिस्नो’ बेच्न बसेकी सावित्री

दिपक के श्रेष्ठः ग्रामीण पर्यट प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, गण्डकीले शुक्रबारदेखि ‘गाउँ पर्यटन मार्ट–२०८२’ सुरु गरेको छ ।

मार्टमा गण्डकी प्रदेशका २९ होमस्टे प्रचारप्रसारमा विभिन्न सामग्री सजाउँदै स्टलसहित बसेका छन् । यसै मार्टमा भेटिइन् तनहुँ, बन्दीपुरनजिकैकी सावित्री गुरुङ ।

कोरिखा सामुदायिक होमस्टेकी अध्यक्ष सावित्री सिस्नोका पोका राखेर बिक्री गर्दै होमस्टेको प्रचार र प्रवद्र्धन गर्दैछिन् । सावित्रीलाई साथ दिँदैछन् कोरिखाका युवा लिलबहादुर गुरुङ ।

सावित्रीकाअनुसार कोरिखाले आफ्नो परम्परा, संस्कृति र प्रकृतिलाई सजीव राख्न निकै मेहेनत गर्दै आएको छ ।

शान्त वातावरणमा रहेको गुरुङ गाउँ कोरिखाबाट अन्नपूर्ण श्रृंखला, माछापुच्छ्रे, मनास्लु हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ ०७३ सालबाट होमस्टे सुरु भएको हो ।

सामुदायिक अवधारणमा रहेको होमस्टेमा १२ घर छन् ।

कोरिखाको शुरुवातीको नाम ‘करफा’ रहेछ । गुरुङ भाषमा महादेवको नाम जनाउँछ । कालान्तरमा अपभ्रंश भएर कोरिखा भन्न थालिएको उनले सुनाइन् ।

कोरिखा पुग्न पोखराबाट डुम्रे पुग्नपर्छ । त्यहाँबाट करिब १२ किलोमिटरमा कोरिखा पुग्न सकिन्छ । पाहुनालाई स्थानीय उत्पादन सिस्नुदेखि अन्य परिकार खुवाइने उनले बताइन् ।

त्यस्तै, कोदोको ढिंडो, गुन्द्रुकको अचार, लोकल कुखुराको मासु, च्याख्ला, तोङ्बा कोरिखाका मौलिक परिकार हुन् ।

यससँगै, स्थानीय नाच र संस्कृति देखाइन्छ भने पाहुनालाई आमा समूहले बनाएको चकटी, गुन्द्री, ढकिया, टोपीजस्ता कोसेली उपहारस्वरुप दिइने सावित्री बताउँछन् ।

यसर्थ, तपाईपनि कोरिखा नियाल्ने योजना बनाउने हो कि?

Exit mobile version