दिपक के श्रेष्ठः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा आइरहेकाबेला उचाइँमा रहेको प्याराग्लाइडिङ व्यवसाय एकाएक ओरालो लागेको थियो ।
त्यसपछि पोखराको सराङकोटबाट उडेर फेवाको खपौदीमा अवतरण गर्ने प्याराले उडानमात्र गुमाएन यसैमा आबद्ध करिब दर्जन कम्पनीले व्यापारै छाडे । साथै, २५ सयले पाउँदै आएको रोजगारीसमेत कटौती भयो ।
विमान उडानमा असर पर्ने कारण देखाउँदै प्यारा उडानलाई मान्द्रेढुंगामा उडानस्थल र अवतरणस्थ्थल पामे तोकेपछिको असरले पोखराको यस क्षेत्र सबैभन्दा बढी मारमा परेको थियो ।
त्यसयताको निरन्तर प्रयासबाट नेपाल हवाई खेलकुद संस्था (ना)ले पुनः पुरानै स्थानबाट उडान भर्ने अनुमति पाएको छ ।
अवतरणस्थल खपौदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा व्यवसायीको छ । प्याराग्लाइडिङको उडान समयसमेत बढाइएको छ ।
पहिले बिहान ११ देखि ३ बजेसम्म मात्र हुने गरेकामा बिहीबारदेखि दिउँसो साढे ४ बजेसम्म उडाउन पाइने भएको छ ।
ना अध्यक्ष अनिल केसीले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जनप्रतिनिधि र पर्यटन व्यवसायीको पहलबाट अवतरणस्थल पुरानै स्थानमा फर्काउन सफल भएको सुनाए ।
हाल सुरक्षामा रेडियो सञ्चार र जीपीएस प्रविधिसमेत प्रयोग गर्न थालिएको बताउँदै केसीले प्यारा बिजनेशलाई पुरानै लयमा फर्काउने सक्ने आशा बढेको बताए ।
पत्रकारसँग दुखेसो पोख्दै नाका उपाध्यक्ष खेमराज आचार्यले यसबीच दैनिक हजार जनालाई सेवा दिइरहेका व्यापार एकैपटक सयको हाराहारीमा सिमित भएको सुनाए । ‘६३ वटा कम्पनीमा १० वटा विस्थापित हुन बाध्य भए’ आचार्यले सुनाए ।
पुरानै स्थानबाट उडान अनुमति पाएपछि हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले ‘प्याराग्लाइडिङ उडान अभिमुखीकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका’ विषयक अन्तर्क्रिया आयोजना गरी यसबारे विविध जानकारी दिएको छ ।
तस्बिरः एजेन्सी