नयाँलिपिः पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मंगलबारसम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेका छन् ।
दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिनसम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरासँग देशभरका जिल्लाबाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १० गते देखि दैनिक १ लाख भक्तजनले कोटिहोम दर्शन गर्ने आउने सङ्केत पाएको बताए । जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो सङ्केत देखिएको उनको विश्वास छ ।
देवी प्रतिभाले जेठ १६ गते सम्म कथा प्रवचन गर्ने कार्यक्रम छ भने जेठ १४ देखि २२ गतेसम्म नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । दुई प्रख्यात कथा वाचीकाको कोटिहोमा उपस्थितिले पनि भक्तजनको सङ्ख्या बढ्ने आयोजकको दाबी छ ।
कोटिहोममा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते, जेठ १४ देखि २२ गतेसम्म श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।