गण्डकी कोटीहोम पोखराः बुधबार सामुहिक व्रतवन्ध गरिने

नयाँलिपिः ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा भोलि बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुँदैछ।

हिन्दु संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्नेछन्।

सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदैछ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण हुने जानकारी गराएका छन्। गण्डकी कोटिहोममा हाल श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ भव्य रूपमा चलिरहेको छ।

महायज्ञको अवसरमा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, कोटिहोम, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिनेछ। कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरिनेछ।

संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवऋण, ऋषिऋण, र पितृऋण—को जानकारी दिइनेछ। यस अवसरमा वेदपाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत आयोजना हुनेछ।

आयोजक मानव सेवा फाउण्डेशनका अनुसार दर्जनौं बालकहरूका लागि व्रतबन्धको दर्ता भइसकेको छ र थप दर्ता खुल्ला छ।

Exit mobile version