दिपक के श्रेष्ठः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरुको पछिल्लो गतिविधितर्फ इंगित गर्दै १७ साल र बादशाहको समय सकिएको भन्दै त्यसलाई ‘भूतप्रेत’को संज्ञा दिएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकीद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलामा प्रमुख वक्तकारुपमा बोल्दै महासचिव विप्लवले राजतन्त्र भूतप्रेत भइसकेको भन्दै अब सत्तामा आउला कि भनेर नतर्सिन आग्रह गरे ।
‘देश फेरी राजा र बादशाहकाे शासनतर्फ जान सक्दैन’ विप्लवले भने ‘नवराज सुवेदी र पन्चहरुको हातमा देश जाँदैन ।’ अबको समय कुनै महाराज र निरंकुशतावादको नहुने विप्लवको दाबी छ ।
उनले भनेका छन् ‘तपाइ पन्चहरुलाई २० वर्षको गणतन्त्र झेल्न गाह्रो भयो, हामी मजदुर किसानहरुलाई २ हजार वर्षसम्म शोषण र अत्याचार सहन कति गाह्रो भयो होला ?’
फागुन १५ मा तीनकुनेको घटनालाई स्मरण गर्दै उनले गणतन्त्रमा पनि सत्ताको मालिक जनता बन्न सकेनन् भन्दै यस सत्यलाई भने सत्ताशीनहरुले स्वीकार्न नसकेको बताए ।
‘अहिले एमाले र कांग्रेसको नाममा दलाल र तस्करहरुको शासन छ, जसले व्यवस्थामाथि नै प्रश्न गर्ने ठाउँ बनेको छ’ विप्लवले भनेका छन् । हाल लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भनिएपनि उनले उन्नत समाजवादलाई अंगाल्न पर्ने जिकिर गरे ।
नेकपा हाल कृषि, स्वरोजगार र उत्पादनतर्फ लागेको भन्दै मुलुकलाई समाजवादोन्मुख यात्रामा अघि बढाउन ०८४ को निर्वाचनमा मत दिई जिताउन आग्रहसमेत गरे । ‘हामीलाई एकपटक मौका दिनुहोस्, दीगो विकास र परिवर्तनको नतीजा तत्काल दिनेछौं ’ उनले भने ।
गण्डकी प्रदेश अन्तरगतरका विभिन्न नेताहरुले सम्बोधन गरेको सभामा प्रदेशका जिल्लाहरुबाट विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका कार्यकर्तालाई महासचिव विप्लवले स्वागत गरेका थिए ।
सभाअघि विभिन्न जिल्लाबाट आएका सहभागीले पृथ्वीचोकबाट सभास्थल चिप्लेढुंगाको मानवअधिकारचोकसम्म ¥याली आयोजना गरेका थिए ।