कोटीहोमको कलशयात्रा सकियो, राप्रपा प्रवक्ता शाहीले भनेः ‘धर्मबिना राजनीति हुँदैन’

नयाँलिपिः पोखरामा जारी गण्डकी कोटिहोम महायज्ञमा आज बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।

कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।

कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभा ,वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी सहित मुख्य पात्रहरुको सहभागिता रहेको थियो ।

कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। “हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ,” उनले भनिन्।

यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार, महायज्ञ समापनपछि प्रतिकलश १ हजार ३ सयमा र दुई कलश २ हजार ५ सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए। “यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ,” उनले भने।

त्यस्तै, कोटीहा्ेममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं युवा नेता ज्ञानेन्द्र शाहीले सहभागिता जनाएका छन् ।

सोहीक्रममा राप्रपा नेता शाहीले धर्मबिना राजनीति नहुने भन्दै गौमाताको हत्या गर्ने हत्यारा नै हुने बताए । ‘गौमाताको हत्या गर्ने हत्यारा नै हो। अब धर्म बचाए मात्र भोलि हाम्रा छोरीचेली, दिदीबहिनी बच्छन्’ शाहीले भने ।

धर्मको नाममा अधर्म गर्नेहरूविरुद्ध कडा अडान राख्दै उनले भने, ‘धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१ प्रतिशत हिन्दु प्रतिकार गर्न निस्किन्छौँ, धर्म मान्नेले पाप गर्दैन, जसले धर्म मान्दैन त्यसले भ्रष्टाचार गर्छ।’

महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछ, जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह -निर्देशक युवक लामिछानेले बताएका छन् ।

Exit mobile version