नयाँलिपिः कास्की प्रहरीले स्वरुप परिवर्तन गरी चर्को आवाजमा कुदाउने गरेका ३५ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामध्ये रोयल इनिफिल्डका मोटरसाइकल बढी छन् भने अन्य क्रसफायर हुन् ।
कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको अवधिमा ती मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए ।
प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा खबर गर्न अनुरोधसमेत गरेको छ ।
प्रहरीले मोडिफाई मोटरसाइकल नियन्त्रण गर्न अभियाननै सुरु गरेको हो । यसअघि पनि बुलेट र क्रसफायरका मोटरसाइकल नियन्त्रणमा लिइँदै आएपनि हालसम्म मोडिफाई रोकिएको छैन ।