फिर्के पुलको ठेक्का तोडियो, ठेकेदारको जमानत र धरौटी जफत गरिने

santan ads

नयाँलिपिः सडक डिभिजन कार्यालय पोखराले पोखरा वडा ४ र ५ जोड्ने फिर्के खोला पुल निर्माणको ठेक्का तोडेको छ ।

पुल निर्माणको ठेक्का पाएको श्री शान्ति–आरोग्य जे।भी। सानेपा ललितपुरले पटक पटक म्याद थपे गरेपनि पुल निर्माण गर्न नसकेपछि सम्झौता रद्ध गरिएको हो ।

फिर्के खोलामाथि निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र छ । पछिल्लो पटक थपिएको म्याद पनि गत वर्ष असारमा सकिएको थियो । निर्माण जिम्मा पाएको श्री शान्ति–आरोग्य जे।भी। सानेपा, ललितपुरले समयमै काम सम्पन्न नगरेपछि कार्यालयले सम्झौता तोड्ने निर्णय गरेको हो ।

सम्झौता अनुसार २०७८ सालमा निमार्ण सकिनुपर्ने थियो । तर सम्झौता म्याद सकिएको तीन वर्ष सम्म पनि पुल अलपत्र छ । पटक–पटक म्याद थपेर पनि पुल निर्माणको काम निर्धारित कार्यतालिका अनुसार अघि नबढे पछि सम्झौता खारेज गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

पुल निर्माणमा ढिलाइ भएको भन्दै डिभिजन कार्यालयले कम्पनीलाई कार्यप्रगति देखाउन निर्देशन दिएको छ ।

२०७५ सालमा पुल निर्माणको ठेक्का शान्ति आरोग्य जेभीलाई दिइएको थियो । ३० महीनाभित्र पुन निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता गरेको थियो । तर तीन पटक म्याद थपिदा पनि पुल बन्न सकेको छैन ।

पहिलो पटक २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा म्याद थपिएको, २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पुर्‍याइएको र २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २७ सम्मको समय दिइएको कार्यालयले जानकारी दिएको छ ।

सडक डिभिजनको सूचनामा ‘बाँकी कार्य गर्न लाग्ने खर्च, त्रुटी सच्याउन लाग्ने खर्च, भुक्तानी भैसकेको तर बिग्रेभत्केको कारण पुनर्निर्माण गर्नुपर्ने अवस्थाको परिणाम वापतको रकम, बनेको संरचना संरक्षण गर्न लाग्ने खर्च, जफत हुने पेश्की रकमको १० प्रतिशतका दारले लाग्ने ब्याज र अन्य आनुषगिक खर्च सरकारी बाँकी सरह असुल उपर गर्न कारबाही प्रक्रिया अघि बढाउने’ उल्लेख गरिएको छ ।

Scroll to Top