दिपक के श्रेष्ठः पोखरा महानगरपालिकाले स्थानीय कृषकलाई उत्पादनमूखी कृषिकर्ममा लाग्न प्रोत्साहनस्वरुप विभिन्न योजना र राहत कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
यसैबीच, महानगरपालिकाले हलोगोरु पाल्ने किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरिरहेको कृषि तथ पशु विकास महाशाखा प्रमुुख मनोहर कडरियाले जानकारी दिएका छन् ।
‘आवश्यकता अनुसार गोरु पालेका किसानलाई राहत स्वरुप १० हजार उपलब्ध गराइरहेका छौं’ प्रमुख कडरियाले भने ‘अवस्था हेरेर हाते ट्रयाक्टरमा पनि अनुदान दिइरहेका छौं ।’
महाशाखाले आज वडा नम्बर २१ मा हल गोरु पालेका किसानलाई स्थानीय जनप्रतिनिधिमार्फत अनुदान वितरण गर्ने कार्यक्रम रहेको जनाए ।
गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए ।
महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५ सय ५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।
त्यस्तै, हाल सुन्तला खेती गरेका किसानलाई असिना छेक्ने जाली र तरबुजा खेति गरिरहेका किसानलाई पनि प्राविधिक सहयोगकासाथै आवश्यक सामग्री उपलब्ध गराइरहेको कडरियाले बताएका छन् ।