fewa taal

‘… अन्तरक्रिया भइरहेछ, फेवाताल घटिरहेछ’

santan ads

दिपक के श्रेष्ठः पोखराको फेवाताल बचाउन सरकार, सरोकारवाला, स्थानीय र विभिन्न संघसंस्था अन्तरक्रियालगायतका कार्यक्रम गरिरहने तर फेवातालको क्षेत्र घटिरहने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्ति गरेका छन् ।

यही सन्दर्भमा आज प्रेस क्लब गण्डकीले पोखरामा ‘फेवातालको विगत र वर्तमानको अवस्था’ विषयक अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा पत्रकार एवं स्थानीयवासी कृष्णमणि बरालले तस्बिरमार्फत पोखराको अवस्था र दूर्दशाबारे थप जानकारी गराएका छन् ।

फेवातालको जानकारी दिँदै बरालले यसको मुहानबाट कमेरो मिसिँदा तालको आयतन खुम्चदै गरेको बताए ।

‘हर्पन खोलाबाट आउने गेग्रान, लेदोले तालको मुहानबाटै प्रकृतिले आक्रमण गरिरहेको छ’ बरालले भने ‘हर्पनबाट ताल तालबाट पातले छांगो र पावरहाउस बनेको छ ।’

पातले छांगोबाट आयआर्जन भइरहेको र पावरहाउसले पोखरेलीलाई उज्यालो दिइरहेको भएपनि ताल जोगाउन सरकार नै निष्क्रिय रहेको उनको भनाई छ ।

तालको वरपरका क्षेत्रमा सडक विस्तार भइरहेको र यही सडकबाट बगेर आउने ग्रेगर, ढुंगा, माटो तालमा पुरिदै गएको उनको अनुभव छ ।

पछिल्लो पारित नयाँ नक्सा र २०१८ को नक्सा दाँज्दा फेवातालको क्षेत्रफल आँधाको हाराहारीमा घटेको प्रतिवेदनहरुले देखाएको उल्लेख गर्दै बरालले फेवा अतिक्रमणमा मानव र प्रकृति दुबै जिम्मेवार भएको जानकारी दिए ।

जापानिज सहयोग संस्था जाइकाले गरेको अध्ययनअनुसार फेवातालमा बर्सेनि १ लाख ४२ हजार मेट्रिक टन माटो र फोहोरमैला थुप्रिने गरेकोे छ ।

फेवाको मापदण्ड र यसको कार्यान्वयन पक्ष झनै पेचिलो भएको उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको भनाई छ ।

उनै लामिछानेले नेतृत्व गरेको समितिले फेवातालको मापदण्ड ६५ मिटर तोकिदिएको थियो ।

६५ मिटर मापदण्डभित्र करिव १ हजारभन्दा बढी संरचना पाइएपछि पोखरा महानगरले स्थानीय तहको निर्वाचनको मुखैमा आएर फेवातालको मापदण्ड घटाएर ३० मिटर कायम गरेको छ ।

लामिछानेले प्रतिवेदनलाई आधार मान्ने हो भने फेवा भित्र रहेको करिब ९ सय ५० जना व्यक्तिको लालपूर्जा खारेज गरिनुपर्ने उल्लेख गरे ।

फेवाताल सिमांकन तथा नक्सांकन समितिका पूर्वसंयोजक पुण्यप्रसाद पौडेलले अब सिमाको बारे कुनै विवाद नरहेको बताएका छन् ।

सन् १९२५-२६ सालतिर ब्रिटिस सर्भे अफ इन्डियाले गरेको अध्ययनको दस्तावेजमा फेवातालको क्षेत्रफल ३.४३ वर्ग किलोमिटर, २०१८ सालमा नेपाल भारत सहयोग मिसनको रिपोर्टले १० वर्ग किलोमिटर देखाएको थियो ।

पछि २०३८ सालमा तयार युएनडिपीको अध्ययन प्रतिवेदनमा ५.८ वर्ग किलोमिटर, २०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार ४.२० वर्गकिलोमिटर र २०६४ सालमा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.०६ वर्ग किलोमिटर देखिएको थियो।

फेवातालको मापदण्डबारे सर्वाेच्च अदालतले ०८० असार १३ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न आदेश दिँदै कार्यान्वयनमा लाग्न भनेको छ ।

तर महानगरका मेयरले यतापट्टी चासो दिएका छैनन् । मेयर आचार्यले सार्वजनिक कार्यक्रममा ‘अब छिट्टै फेवाताल र अदालतको आदेशबारे नयाँ समाचार सुन्न पाउनुहुनेछ’ भन्ने बाहेक ठोस काम गर्न सकेका छैनन् ।

Scroll to Top