नयाँलिपिः नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षको तयारीमा ‘राष्ट्रिय खेलकुद पुरस्कार’सँगै विविध कार्यक्रमको घोषणा गरेको छ ।
रजतवर्षमा खेलकुदमा योगदान पुर्याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गर्ने मञ्चले जनाएको छ ।
मञ्चको आगामी बैशाख ८ गते आफ्नो स्थापना दिन संगै रजत वर्ष महोत्सव गरी विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ भने अध्यक्ष दिलबहादुर गुरूङको संयोजकत्वमा ३५१ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ ।
मञ्चका अध्यक्ष गुरूङले रजत वर्ष नेपाली खेलकुद इतिहासमा महत्वपूर्ण क्षणकोरुपमा लिएको जनाउँदै मञ्च २५ वर्षमा पुगे संगै नेपाली खेलकुदमा योगदान पुर्याउने एकजनालाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने जनाएका छन् ।
पुरस्कार हरेक दुई वर्षमा एकजनालाई दिने गरी स्थापना गरिएको जनाउँदै यो वर्ष रजत महोत्सवको समापन कार्यक्रममा प्रदान गरिने जनाए ।
रजत वर्ष महोत्सवका अवसरमा मासिकरसाप्ताहिक दौडलाई निरन्तरता संगै आमा समुह दौड, पूर्नमिलन कार्यक्रम, अन्तर मावि वक्तित्वकला, चित्रकला प्रतियोगिता, दृष्टिविहिन यू–१२ दौड प्रतियोगिता, पत्रकार दौड प्रतियोगिता, जनप्रतिनिधी दौड, चालक दौड तथा ६० वर्ष माथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरिएको छ भने गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’ समेत रजत वर्ष महोत्सवका अवसरमा आयोजना गरिने छ ।
म्याराथनबाट १२ लाख २९ हजार बचत
त्यस्तै, १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको मञ्चले जनाएको छ ।
मञ्चले गत फागनु ३ गते सम्पन्न पोखरा म्याराथनको आय–व्यय सार्वजनिक गर्दै कोषाध्यक्ष हरि बहादुर बरुवालले आम्दानी रु.९३ लाख ७० हजार ६८९ रुपैंया तथा रु.८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भई १२ लाख २९ हजार ५११ रुपैंयाँ ७ पैसा बचत गर्न सफल रहेको जनाए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत ब्यहोरेको थियो ।
यस्तै पोखरा म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानिय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्धेश्यले मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा समेत ३१ लाख ५४ हजार २५६ रुपैयाँ संकलन भएको कोषाध्यक्ष बरुवालले बताए ।