दिपक के श्रेष्ठ: यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गराउन देशैभरका शिक्षकहरु यतिबेला काठमाण्डौं आन्दोलनमा केन्द्रित भएका छन् ।
आन्दोलनको खाकाअनुसार आजदेखि देशैभरका माध्यमिक विद्यालयमा शैक्षिक आम हडताल घोषणा गरिएको छ । हडतालकाकारण कास्कीका विद्यालयहरु पनि बन्द छन् ।
आन्दोलनबारे जानकारी दिँदै नेपाल राष्ट्रिय शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष रोमहर्षन पौडेलले सरकारले यसबीच वार्तामा बोलाइरहे पनि त्यसको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।
‘शिक्षक महासंघ र सरकारबीच यसअघि नै वार्ता गरी विविध सहमति भइसकेका छन्’ अध्यक्ष पौडेल भन्छन् ‘पहिलेकै सहमति कार्यान्वयन गरियोस् भन्ने हाम्रो माग हो, फेरि वार्ताको टेबलमा बसिरहन आवश्यक छैन ।’
सार्वजनिकरुपमा शिक्षकहरुले स्थायी हुन गरेको आन्दोलन भन्ने आरोप लगाइएको छ भन्दै पौडेलले अनिवार्य र निशूल्क शिक्षा पहिलो माग भएको बताएका छन् ।
त्यस्तै, एउटा शिक्षक सुब्बाको जागिर पाए शिक्षण छाडेर हिँड्ने प्रवृत्ति रहेको भन्दै पौडेलले शिक्षक पेशालाई नै आकर्षक र उत्तरदायी बनाउन आन्दोलनरत रहेको जानकारी दिए ।
‘शिक्षकबीच, स्थायी, राहत, करार इसिडीजस्ता तह छन्, जसले शिक्षा र पेशालाई भद्रगोल बनाएको छ’ पौडेलले भने ‘एउटै पेशाकर्मीबीच भिन्न वर्ग र तहको विरोधमा हामी जुटेका छौं ।’
पौडेलका अनुसार शिक्षक छनौट विधि एकद्वार प्रणालीमार्फत गरेर असमानताको अन्त्य गरिनु पर्छ । हाल विद्यालयमा बिदा भएकाले आन्दोलन घोषणा गरिएको बताउँदै उनले उत्तरपुस्तिका जाँच भने रोकेको बताएका छन् ।
आन्दोलनप्रति आशावादी देखिएका गण्डकी अध्यक्ष पौडेलले भने ‘सम्भवतः आज बेलुकासम्म केही निकास निस्कने अपेक्षा छ ।’
आन्दोलनमा देशभरका राहत, अस्थायी इसिडी गरी करिब ६९ हजार शिक्षक आन्दोलनमा छन् । त्यस्तै, ४ हजार हाराहारीका कर्मचारी पनि शिक्षककाजस्तै माग लिएर आन्दोलनरत छन् ।
यता, सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघको भनाई छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत शिक्षकहरुले फागुन २७ देखि चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरुसंग भेट गरि विधेयक पारितका लागि दबाब दिएका थिए ।