‘रविले प्रधानमन्त्री पद छाडेको’ भन्ने दाबी निराधारः मुकुल ढकाल

santan ads

नयाँलिपिः पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बनमा परेका मुकुल ढकाल विशेषतः सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेप्रति आक्रामक देखिएका छन् । ढकालले लामिछाने सहकारी काण्डमा पुनः समातिएपछि उनलाई छाडेर पार्टी सृदृढिकरण गर्नुपर्ने बताएका थिए ।

यसैबीच, लामिछानेले प्रधानमन्त्री पद त्यागेको बिषयमा उनले स्पष्ट धारणा राख्दै त्यो गलत भएको लेखेकाा छन् ।

उनले सामाजिक सञ्जालमा राखेको धारणा जस्ताकोतस्तैः

रवि दाइ प्रधानमन्त्री बन्ने कुरा, खासमा के भएको थियो ?

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग गठबन्धन परिवर्तन गरि एमाले-रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, काङ्ग्रेस प्रतिपक्षमा बस्यो । काङ्ग्रेस प्रतिपक्षमा बसेपछी, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली काङ्ग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछी शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो ।

काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछी, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो । तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछी, मैले रवि दाइलाई संविधानका ‘धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ अनुसार जान पर्ने हुन्छ र तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए ।

त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेर बहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो । रास्वपाले तत्काल सरकार छाडे, काङ्ग्रेस-माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो ।

नेपाली राजनीतिमा धोकाधडि अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १-२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछी बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ , यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछी काङ्ग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए ।

यसर्थ, इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ ।

माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागी नेपालको संविधान पल्टाउन सक्नुहुन्छ । काङ्ग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नु हुन्छ । डेमोक्रेटिक एलायन्समा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरि हौवा नपिटौँ ।

(माथि उल्लेख गरिएका सबै कुरा मिडियामा आइसकेका हुन् । त्यसलाई एक ठाउँमा राखेर कुरा क्लियर मात्र पारेको हो । राजनीतिक पार्टीहरूबीच हुने आपसी कुरालाई रवि दाइ आफैँले पटक पटक दोहोर्याएर अराजनीतिक चरित्र देखाएका हुन् , मैले यता ठ्याक्कै के भएको थियो, त्यो भनिदिएको मात्र हो ।)

Scroll to Top