नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयअगावै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका ठेकेदारलाई सम्मान गरेका छन् ।
गोरखाको पालुङटार नगरपालिका–९, खारखोलामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल ११ महिनामै सम्पन्न भएपछि ठेकेदार मिलन खड्कालाई सम्मान गरिएको हो ।
मुख्यमन्त्री पाण्डेले गोरखा नगरपालिका र पालुङटार नगरपालिका जोड्ने मोटरेबल पुलको उद्घाटन गर्दै नागरिकको माग र आवश्यकतालाई ध्यान दिएर प्रदेश सरकारले पुल बनाउन बजेट विनियोजन गरेको बताए ।
पुल निर्माण गर्ने कम्पनीका ठेकेदार खड्का जस्तै काम गर्ने कम्पनी भएमा देश विकास तीव्र गतिमा हुने भन्दै मुख्यमन्त्री पाण्डेले समयसीमाभित्र निर्माण पूरा गराउने परियोजनामा गण्डकी प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरे ।
पूर्वाधार कार्यालय गोरखाले पुल निर्माणका लागि श्रीगणेश अमृत निर्माण सेवा जेभीसँग २०८० चैत १२ गते सम्झौता गरेको थियो ।
२०८२ असोज २६ गते अर्थात् डेढ वर्षमा सकिने गरी सम्झौता भएकोमा निर्माण कम्पनीले द्रुत गतिमा काम गरेकाले ११ महिनामै निर्माण सम्पन्न भएको हो । उक्त पुलको लम्बाइ २५ मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।
निर्माण कम्पनीले मोटरेबल पुल निर्माणका लागि आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिकसहितको टोली व्यवस्थापन गरिएकाले डेढ वर्षमा सक्नुपर्ने काम ११ महिनामा सम्पन्न भएको पालुङटार नगरपालिका नगरप्रमुख विवश चिन्तनले बताए ।
नगरप्रमुख चिन्तनका साथै वडा नम्बर ९, ढुङ्गेटारीका स्थानीयले पनि फूलमालाले ठेकेदार खड्कालाई सम्मान गरेको पूर्वाधार कार्यालय गोरखाका कार्यालय प्रमुख गणेश सुवेदीले बताए ।
पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड ७५ लाख ९० हजार १२५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।