नयाँलिपिः पोखरामा जारी लिटरेचरको फेस्टिभलको अन्तिम दिन ‘अनुदानमा सिर्जनाको स्वतन्त्रता’ विषयक सेशनमा सम्वाद भएको छ ।
हाल चर्चामा रहेको विषयवस्तुलाई बहसमा ल्याएर आयोजकले विभिन्न लेखकसँग धारणा लिएको छ । उल्लेखित विषयबाट आलोचनामा फँसेका लेखक खगेन्द्र संग्रौलाले आफु वंशवादको विरुद्धमा लेख्न थालेदेखि नै भिन्नखाले आरोप लागिरहेको बताए ।
‘वंशवादी र धर्मान्धहरुले सकेको गरे र गर्न खोजिरहेका छन्’ संग्रौलाले सुनाए ‘म बिहान वाकमा निस्कँदा पनि बिहानै चडाएर आएको भन्दै टिप्पणी गरेका छन् ।’
उनले त्यसरी भेट्नेहरुले ‘तपाइको दानापानी लैनचौरबाट आएको हो ?’ भन्दै सोध्ने गरेको प्रसंगसमेत सुनाए । आफुले बालबालिकाको विषयमा पारिश्रमिक लिएर लेखेपनि कुनै शर्त नराखिएको उल्लेख गरे ।
‘आरोपहरु धेरै समय लागेको हो । आरोप लगाउनेहरुले मलाई सधैं भारु दिइरहें’, उनले व्यंग्य हान्दै भने, ‘मलाई ज–जस्ले आरोप लगाइरहेका छन्, त्यो डलर बाटोमा आउदै होला । आयो भने मलाई राम्रो हुन्छ अर्को किताब लेख्न हुन्छ ।’
पत्रकार देवेन्द्र भट्टराईले लेखक खगेन्द्र संग्रौलासँगै निर्देशक मीन भाम, कवि सुमिना र नेपाली मुलकी लेखक मञ्जुश्री थापासँग सामुहिक सम्वाद गरे ।
कवितामा आफूले अधिकारका विषय उठान गर्दा आफूमाथि अनाहकमा दानापानीको लाञ्छना लगाइएको सुमिनाले बताइन् ।
‘महिला अधिकारका कुरा र परम्परागत मान्यतासँग असहमति राख्दै महिलाको कोणबाट केही विचारहरु लेखेको छु । त्यो कारणले गर्दा अधिकारको कुरासँग भड्किएकाले लगाएको आरोप हो मलाई लाग्छ’, उनी भन्छिन्, ‘आरोप लगाउनेहरु को हुन्, उनीहरुको उदेश्य के हो ? स्पष्ट भएकाले त्यति धेरै असर परेको छैन ।’
लेखक र कलाकर्मीमाथि भएको आक्रमणलाई सामाजिक सञ्जालको दुुरुपयोगले निम्त्याएको अराजकताको संज्ञा दिन्छिन् उनी ।

नेपाल गोजीको पैसा दाउमा लगाएर कला, साहित्यमा लगानी गर्ने तेस्रो मुलुक भएको निर्देशक भामले बताए । ‘अपवादबाहेक हामीले निर्माण गर्ने चलचित्र वा अरु कलाको माध्यममा जहाँ मान्छेले गोजीको पैसा ताउमा लगाएर सिर्जनामा लाग्नुपर्छ’, उनले दाबी गरे । राज्य र सार्वजनिक क्षेत्रको लगानी नभएको उनको भनाइ छ ।
क्यानडामा बस्दै आएकी नेपाली मुलकी लेखक थापाले साहित्यलाई लेखनको अमेरिकी बजारले प्रभाव पारेपछि क्यानेडामा ढुक्लले लेख्न सकुनँ भनेर अनुदान दिन थालिएको स्मरण गरिन् ।
‘क्यानेडा काउन्सिल फर द आर्टस्’ भन्नेछ, त्यसले वर्षमा तीन सय मिलियन्स अमेरिकी डलरको अनुदान मात्रै उपलब्ध गराउँदछ । साहित्यकारहरुलाई मात्रै होइन अरु सबै विधाको कलाकार र कलकारका संघहरुलाई’, उनले भनिन् ।
‘राइटर ट्रष्ट’ ले पनि साहित्यलाई मात्रै अनुदान दिने बताउँछिन् । साहित्यकारलाई आनन्दले लेख्नलाई लेखन आवसीय क्षेत्र खडा गरेर वातावरण निर्माण गरिएको उनले सुनाइन् ।
लेखन नेपालको कला साहित्यको क्षेत्रमा सबैभन्दा सस्तो ठानिएको लेखक मञ्जुश्रीको विश्लेषण छ ।
‘सबै जनाले के सोच्दा रहेछन् भने साहित्यकारले बसेर लेखनुँ नि । त्यसबाट ममता पाइहाल्छन् नि । साहित्यकारले खानु पनि पर्दैन । घरको बहाल पनि तिर्नुपर्दैन’, उनी थप्छिन्, ‘आफ्ना परिवारलाई पनि जतन गर्नुपर्दैन । अरु कुनै बोझ साहित्यकारमा हुदैन । सिर्जनाको शुद्ध क्षेत्र सोचिरहेको जस्तो पाए अहिलेको विवादलाई हेर्दा ।’
६ महिना लाग्ला कुनै किताब लेख्नलाई त्यो बेला कसरी बाँच्ने रु घरभाडा कसरी तिर्ने रु यो विषयमा पनि सोच्न उनले आवश्यकता औल्याइन् ।
विदेशमा किताब लेख्ने बेलामा अनुदान दिने संस्थाहरुले कुुनै पनि शर्त नराख्ने उनको भनाइ थियो । उनले जहाँबाट अनुदान पाएका छन् त्यही संस्थालाई आलोचना गर्ने प्रचलन रहेको बताइन् ।
‘सरकारबाटै पैसा लिएर त्यही सरकारलाई गाली गर्ने स्वतन्त्रता पाइन्छ । नेपालमा गलत बुझाइ हुन्छ सक्छ । अर्को जानी जानी कुरा व्यंग्याउने प्रचलन देखिन्छ’, उनले भनिन् ।