पोखरामा फागुन १५ देखि साहित्यको ‘कुम्भ मेला’

नयाँलिपिः पोखराको ब्राण्डकारुपमा रहेको नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ ।

आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।

सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।

देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।

यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् ।

उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ ।

यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।

Exit mobile version