टाइगर कपः तीनै खेलमा विभागीयको जीत

नयाँलिपिः एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता आजका तीन खेलमा विभागीय टोली हावी भएका छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो ।

तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता गर्‍यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता गर्‍यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।

यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Exit mobile version