पोखरा । माघ २२ गतेबाट संचालन हुने मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको २४ औं आहा रारा पोखरा गोल्डकपमा ‘फ्यान अफ दि म्याच’को पुरस्कार साहारा यूकेले गर्ने भएको छ ।
सहारा युकेका महासचिव क्या.पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ सम्झौतापत्रमा हस्ताक्षर गरि सो कुराको जानकारी दिएको हो ।
सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो ।
प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।
२४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हँुदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।
पोखरा रंगशालामा फागुन ३ गते सम्म प्रतियोगिता हुनेछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र गतिमा गरि रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।