दिपक के श्रेष्ठ
नयाँलिपिः आजभन्दा २ वर्षअघि यति एयरलाइन्सको विमान काठमाण्डौबाट पोखरा आउनेक्रममा सेती खोंचमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार बनेको उक्त हवाई दुर्घटना पोखरेलीले आँखै अगाडी देखेको २ वर्ष बितिसकेपनि त्यसले दिएको पीडा अझै उस्तै छ ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए ।
क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको त्यो पहिलो घटना थियो ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा पोखराका होनहार पत्रकार त्रिभुवन पौडेल र सञ्चारकर्मी अनिल शाही पनि थिए । जसको सम्झनामा आज नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले स्मृतिसभाको आयोजना गरेको छ ।
दुर्घटनाले जनधनको क्षति त गरायो नै नेपालको हवाई र पर्यटन क्षेत्रलाईसमेत धक्का पुग्यो । नेपालको आन्तरीक उडानमा यतिको घटना नै सबैभन्दा ठूलो हो मानवीय क्षति भएको दुर्घटना हो ।
सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा घोषणा गरेको थियो । जसले पनि पुष्टि हुन्छ विमान दुर्घटनाले पु¥याएको क्षति त्यसको असर ।
साथै, दुर्घटनापछि पोखराका नयाँ र पुरानो दुबै विमानस्थलसमेत यात्रुवाहक उडानकालागि केही समय बन्द गरिएको थियो ।
सरकारका तीनै सुरक्षा संयन्त्र, प्रविधि र शक्तिको परिचालनपछि पनि सेती खोंचबाट शव निकाल्न साता दिन लागेको थियो । जहाजका भग्नावेशषहरु लामो समयसम्म उठाउन नसक्दा पछिसम्म पनि त्यहाँ पुगेर श्रद्धाञ्जली चढाउनेहरु भेटिन्थे ।
विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए। जसमा ५३ नेपाली, ५ भारतीय र अन्य पश्चिमा मुलुकका पर्यटक थिए ।
दुर्घटना भएको क्षेत्रमा मृतकको चीर शान्तिको कामना गर्न यतिबेला परिवार र आफन्तजनहरु पुगेका छन् । त्यहाँ तस्बिरसहित मृतकको विवरणसमेत राखिएको छ ।
तस्बिरः एजेन्सी