दिपक के श्रेष्ठ
पोखराको अमरसिंहमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रले आज स्वर्ण महोसव मनाएको छ ।
०३८ साल असोज १६ गते नेपाल सरकारको लगानीमा स्थापना भएको औद्योगिक क्षेत्रले यस क्षेत्रमा ५० वर्ष मनाउनु गौरवमय क्षण भएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बताए ।
औद्योगिक क्षेत्र व्यववस्थापन कार्यालय परिसरमा निर्मित ‘स्वर्ण स्तम्भ’को अनावरण गर्दै मन्त्री बस्यालले गण्डकीमात्र नभएर देशमै उद्यमको वातावरण तयार गर्न औद्योगिक क्षेत्रको उल्लेखनीय योगदान रहेको उनको भनाई थियो
‘नेपाललाई कृषिसँग उद्यममा जोड्न अनिवार्य भइसकेको छ, यसमा औद्योगिक क्षेत्रको भूमिकालाई भुल्न मिल्दैन’ मन्त्री बस्यालले भने ‘प्रदेश सरकार उद्यमीलाई सहज वातावतरण तयार पार्न केही विशेष गृहकार्य गरिरहेको छ ।’
सरकारले लगानीको सुरक्षा र सुनिश्चितताको पक्षमा काम गर्ने भन्दै उद्यम र रोजगारकालागि मिलेर अघि बढ्न गण्डकी सरकार तयार रहेको धारणा राखे ।
सोही अवसरमा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले मन्त्री र व्यवस्थापनसामु उद्यमीका समस्याहरु सुनाएका थिए ।
उद्यम र उत्पादनमा अनवरत लागिरहे पनि आवश्यक कच्चा पदार्थ देशमा नपाइनु र बाहिरबाट झिकाउँदा भारी कर तिर्नुपर्दा उत्पादन र रोजगारमा योगदान दिन नसकेको उल्लेख गरे ।
‘हाम्रो व्यवसाय जति उँभो लाग्नुपर्ने हो लाग्न सकेको छैन’ श्रेष्ठ भन्छन् ‘सरकारले उद्यम र उद्यमीलाई हेर्ने दृष्टिकोण अझैपनि सकारात्मक हुन सकेको छैन ।’
समायानाकूल ढंगले नीति नियमको संशोधन गर्न नसके हालका उद्यमीको समस्या रहिरहनेमात्र हैन नयाँ पूस्तालाई पनि उद्योगधन्दामा ल्याउन नसकिने श्रेष्ठको भनााई छ ।
गत असोजमा देशका विभिन्न भागमा गएको बाढीबाट भएको जनधनको क्षतिलाई मध्यनजर गरी घोषणा गरिएको राष्ट्रिय विपतकाकारण स्वर्ण महोत्सवको मिति सारिएको थियो ।
कूल ५ सय १ रोपनी क्षेत्रमा फैलिएको औद्योगिक क्षेत्रमा हाल ७६ उद्योग सञ्चालनमा छन् भने निजी क्षेत्रको करिब १० अर्ब रुपैयाँ बढी लगानी रहेको तथ्यांक छ । जहाँ अनुमानित ३ हजार जनाले रोजगारी पाएका छन् ।
व्यवस्थापन कार्यालय प्रमुख हिमालय भण्डारीको सभापतित्वमा भएको महोत्सवमा उद्यमी, जग्गादाता एवं मजुदरहरुको सहभागिता रहेको छ ।