डुम्रे खण्ड विस्तारमा ठेकेदारप्रति स्थानीय रुष्ट, संसदीय समितिमा उजुरी

तनहुँ । पृथ्वी राजमार्गको पूर्वीखण्ड अन्तरगत डुम्रे बजारमा कल्भर्ट निर्माणमा लापरवाही भएको भन्दै स्थानीयवासी निर्माण कम्पनीप्रति आक्रोशित भएका छन् । उनीहरुको आक्रोश निर्माण कम्पनी चाइना कम्युनिकेशन कन्सट्रक्सन (सीसीसी)सँग मात्र नभएर आयोजना लिने ठेकेदार संग पनि रहेको छ ।

गत १८ गते निर्माण कम्पनी, स्थानीय जनप्रतिनिधिले उक्त क्षेत्रको कल्भर्ट निर्माणको अवलोकन, अनुगमन गरेका थिए ।

त्यसक्रममा पुरुवा माटोमाथि कल्भर्ट बनाइएको र सोही कारण कल्भर्ट भित्री भागबाट दबिँदा १५ सेमिभन्दा बढी फाँटिएको पाइएको थियो । कल्भर्ट फाँटिदा एकातिर निर्माण कम्पनीले न्यून गुणस्तरको सामग्री प्रयोग गरेको र अर्कातिर यसले आगामी दिनमा ठूलो क्षति पु¥याउन सक्ने स्थानीयको भनाई छ ।

बाटो निर्माणको क्रममा स्थानियको घरको चर्किएको वाल

यस विषयमा जानकारी गराइए पनि सम्बन्धित पक्षले चासो नदिएको स्थानीय शम्भु श्रेष्ठ बताउँछन् । ‘स्थानीयवासीले काम रोक्न लगाएर गत १८ गते कल्भर्ट निर्माणमा लापरवाही भएको विषयमा ठेकेदार कम्पनी र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएका हौं’ श्रेष्ठ भन्छन् ‘तर हाम्रो आवाजको सुनुवाई भएन, यस्तो क्रियाकलापले कन्सल्टेन्सीमा आर्थिक चलखेल त भएको छैन भन्ने आशंका छ ।’

श्रेष्ठका अनुसार राष्ट्रिय गौरवका आयोजनामा राज्यपक्षको अनुगमन र अख्तियारी कमजोर भएकाले पृथ्वी राजमार्गको डुम्रे क्षेत्रमा कमसल निर्माण भइरहेको र स्थानीयवासी प्रताडित हुन पुगेका छन् ।

यसैगरी अर्का एक स्थानीयले एशियाली विकास बैंकको सहयोगमा विस्तार भइरहेको सडक खण्डमा स्थानीय जनताले औंल्याएको कमीकमजोरीलाई नजरअन्दाज गरिँदा राजमार्गको गुणस्तरमाथि शंका उब्जेको धारणा राखेका छन् ।

यस सडकखण्डबारे संसदीय समितिमा पनि उजुरी परिसकेको छ । स्थानीयका अनुसार यस खण्डको निर्माणअघि बुझाइएको रिपोर्ट कन्सल्टेन्सीको स्वार्थअनुरुप छ ।

बाटो निर्माणको क्रममा स्थानियको घरको चर्किएको वाल

उनीहरुले डुम्रेस्थित सडकको मापदण्ड र मुआब्जाको विषयमा निवेदन परेको, छोड्नुपर्ने मापदण्ड छोडिएको, मुआब्जामा राख्न नपर्ने भनि नराखिएको र सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा घरमा कुनै असर नपर्ने भनिएको उल्लेख गरेपनि हाल सटर, कवल आधा ढाकिने गरी पर्खाल लगाउन थालिएको हुँदा क्षतिपुर्तिकालागि संसदीय समितिसमक्ष उजुरी परेको छ ।

निर्माणाधिन उक्त सडक खण्डको ठेकेदारलाई यस विषयमा पटक पटक जानकारी गराउदाँ समेत आलटाल गरेर केहि न केहि वहानामा उक्त स्थानको अवलोकनमा आलटाल गरेको कारण ठुलो माननिय क्षति हुन सक्ने संभावना बढ्दै गएकोमा स्थानिय रुष्ट रहेको छन ।

यस विषयमा बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले स्थानीय वडाध्यक्षसँग विस्तृत बुझेर सम्बन्धित कन्सल्ट्यान्टसँग कुरा गर्ने बताए । ‘मलाई पनि जानकारी आएको छ, तर विस्तृत थाहा छैन, म वडाध्यक्षसँग बुझेर एक्सनमा जान्छु’ अध्यक्ष थापाले भने ।

वडाध्यक्ष शिवकुमार श्रेष्ठले भने उक्त कल्भर्ट पुरुवा माटोमाथि नै बनेकाले त्यस आसपासको वाल (पर्खाल) दबेको बताए । कल्भर्टमा क्षति पुग्दा सँगैको निजी घरमा पनि क्षति पुग्न सक्ने उनको भनाई छ ।

यस्तो संरचनाले कुनै पनि बखत मानविय क्षति हुन सक्ने बताउदै उनले भने ‘यो ठेक्का हेर्ने प्राविधिकसँग कुरा गरिसकेकोछु, उनीहरुले गल्ति भएको स्वीकारेका छन् ।’

बाटो निर्माणका क्रममा घरमा क्षति, आलटाल गर्दै कम्पनी
डुम्रे सडक खण्ड विस्तारकाक्रममा स्थानीय राजकुमार श्रेष्ठ बढी पीडित भएका छन् । स्थलगत रिपोर्टिङमा उनको घरमा क्षति पुगेको देखिन्छ ।

नयाँलिपि सम्वाददातासँगको कुराकानीमा श्रेष्ठले यस विषयमा टोल विकास संस्था, वडा कार्यालय, डुम्रे भन्सार इकाई प्रहरी, बन्दिपुर गाउँपालिकादेखि संसदीय समितिसम्म उजुरी गरेको बताए ।

‘स्थानीय सरकार र अन्य सबै निकाय हाम्रै पक्षमा देखिन्छन्’ श्रेष्ठ भन्छन् ‘ठेक्काको जिम्मेवार पाएको कम्पनीलाई पटक पटक ध्यानाकर्षण गराएको छु, तर सुनुवाई नगरी योजना टुंग्याउने ध्याउन्नमा छन् ।’

ठेकेदार कम्पनीले आलटाल गरिरहँदा आफुले न्याय नपाउने हो कि भन्ने आशंकामा रहेका श्रेष्ठ अब स्थानीय सरकार र संसदीय समितिको भरमा रहेको बताउँछन् ।

Exit mobile version