नयाँलिपिः गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कार्यालयमा सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशन समेत दिनुभएको छ । “कार्यालय भवन निर्माण गरेर मात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस् ।”, उहाँले भन्नुभयो । प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उहाँको छ ।
गण्डकी प्रदेशका सांसद जीत प्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडी परेका वर्गहरुका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद अशोककुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गर्नुभयो ।