नेपालकै कान्छा न्यायाधीश नितिजको इजलासमा रविको ‘भाग्य फैसला’

fishtail hospital

दिपक के श्रेष्ठ

पूर्वी तराई मोरङमा ०४७ साल भदौ २३ गते जन्मिएका नितिज राई हाल कास्की जिल्ला अदालतमा न्यायाधीश रहेका छन् । उनै न्यायाधीशको हातमा रहेको छ मुलुककै चर्चित सूर्यदर्शन सहकारी ठगी मुद्दाको किनारा लगाउने जिम्मा ।

चर्चित त यसकारण भएको छ, जहाँ आरोपी बनाइएका छन् रवि लामिछाने । लामिछानेको भाग्य फैसला यही शुक्रबारसम्म न्यायाधीश नितिजले गर्नेछन् । जन्मका हिसाबले नितिज मात्र ३५ वर्ष पुगेर मुलुककै कान्छा न्यायाधीश बनेका छन् । र, उनको हातमा मुलुककै ध्यान खिच्ने मुद्दा र व्यक्ति छन् ।

न्यायिक क्षेत्रमा उपसचिव भएको ३ वर्षपछि मात्रै न्यायाधीश हुने प्रावधान रहेपनि सेक्सन अफिसरबाटै नितिज लोकसेवा आयोग लडेर न्यायाधीश भएका हुन् ।

देशभर २ सय ८२ जिल्ला न्यायाधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परीक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।

त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक थिए नितिज । अब नितिजले रविलाई पुर्पक्षका लागि थुन्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाडेर मुद्दा लड्ने भन्नेबारे अन्तिम आदेश दिनेछन् ।

न्यायाधीश नितिज राइ

बयानको पहिलो दिन न्यायाधीश नितिजले रविलाई ‘स्वास्थ्यवस्था कस्तो छ ?’ भनि प्रश्न गरेका थिए । बयानमा उपस्थित स्रोतका अनुसार मुलायम प्रश्नबाट सुरु भएको बयान क्रमशः तात्दै गएको थियो । सहकारीसम्बन्धी विविध प्रश्नमा रविले एकपछि अर्काे इन्कारी बयान दिँदै गएका थिए ।

रविले आफुमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै बाराम्बार इन्कारी बयान दिएपछि नितिजले चेतावनी शैलीमा त्यस्ता शब्द प्रयोग नगर्न भनेका थिए । पहिलो दिनको सत्रमा सामान्य चर्काचर्की भएकैबेला रवि पक्षधरका कानून व्यवसायीले मोबाइल प्रयोग गर्ने, तस्बिर लिने गरेपछि एकजना बाहेक अन्यलाई उनले बाहिर निकालेका थिए ।

झट्ट हेर्दा सामान्य र अपत्यारिला देखिने न्यायाधीश नितिजको उक्त दिनको कार्यशैली हेर्दा उनी नरम र गरम दुबै हुनसक्ने कानूनी ज्ञाता रहेको सहभागीको बुझाई छ ।

त्यसो त रविलाई थुनामा पठाइए वा धरौटीमा छाडिए पनि त्यसपश्चात् चर्चा र प्रसिद्धि भने न्यायाधीश नितिजकै पोल्टामा रहनेछ ।

 

Scroll to Top